६० नाघेपछि पनि नियमित खोप

काठमाडौँ — बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउन खोप लगाउन कमैले बिर्सन्छन् । तर ६० वर्ष नाघेकाहरूलाई पनि खोप आवश्यक हुन्छ भन्ने यथार्थ कमैले आत्मसात् गरेका छन् ।

Yamaha

आफ्ना बालबालिकालाई रोगमुक्त राख्न तपाईं हामीले नबिर्सिई विभिन्न खोप लगाए जस्तै घरका बूढापाकालाई नियमित रूपमा खोप लगाउनुपर्छ । रोगमुक्त त बूढापाकाले पनि हुनुपर्छ !खोपले संक्रामक रोगबाट शिशुहरूलाई जस्तै बूढापाकाहरूलाई समेत सुरक्षा दिन्छ । तिनमा रोग प्रतिरोधक क्षमता बढाउँछ ।
यसै कारणले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी), एडभाइजरी कमिटी अन इम्युनाइजेसन प्राक्टिस (एसीआईपी) लगायतले बूढापाकाका लागि समेत खोपको निर्देशन जारी गरेका छन् । यसैले होला, केही समययता ललितपुरको पाटन अस्पतालको जेरियाट्रिक मेडिसिन विभागमा ६० वर्षमाथिका १० देखि १५ जनासम्म दिनहँु खोप लगाउन आउने गरेका छन् । यो संख्या बिस्तारै बढ्दै गएको छ ।
‘रोग प्रतिरोधक क्षमता उमेरसँगै कम हुँदै जाने भएकाले बुजुर्गहरूमा रोगले छिट्टै असर देखाउँछ,’ पाटन अस्पताल, जेरियाट्रिक मेडिसिन विभागका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेल भन्छन्, ‘निमोनिया, फ्लु, जनै खटिरा, टीडीएपी, हेपाटाइटिस बी लगायतको खोप लगाई उनीहरूको ज्यान जोगाउन सकिन्छ ।’
हुन त वयस्कहरूका लागि समेत विभिन्न खोप लाभदायक मानिएको छ, तैपनि ६० वर्षमाथिका तर कुनै दीर्घरोग भएकाहरू तथा ६५ वर्षमाथिका तर कुनै रोग नभएकाहरूले न्युमोकोकल खोप लगाउनुपर्छ । मुटु र रक्तवाहिनी सम्बन्धी रोग भएकाहरू, दीर्घकालीन कलेजोसम्बन्धी रोग भएकाहरूका लागि न्युमोकोकल रोगविरुद्घको खोप आवश्यक हुन्छ ।
हाल हाम्रो मुलुकमा बूढापाकाहरूको मृत्यु सबैभन्दा बढी श्वासप्रश्वाससम्बन्धी रोग, निमोनियाले हुने गरेको छ । पाटन अस्पतालको तथ्यांकअनुसार, दम बल्झँदै गएर मृत्यु हुनेसमेत बढी छन्, दम भएकाहरूमा निमोनिया थपिने सम्भावनासमेत हुन्छ । बूढापाकाहरूमा मुटु, कलेजो, मृगौला, फोक्सोसम्बन्धी दीर्घरोग, क्यान्सर लगायतले मृत्यु हुने गरेको देखिन्छ ।
वृद्घावस्थामा श्वासप्रश्वासबाट हुने समग्र मृत्युमा करिब ५० प्रतिशतको कारक निमोनियाको संक्रमण हुने गरेको छ । तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण किशोर पुस्ताका तुलनामा बूढापाकालाई ५० गुणा बढी हुने सम्भावना रहन्छ ।
गहन चिकित्साअन्तर्गत एन्टी–माइक्रोबियल एजेन्टको विकासले गर्दा निमोनियाको उपचारमा प्रभावशाली प्रगति भए पनि अस्पताल भर्ना गर्नुपर्ने बूढापाकाहरूको मृत्यु निमोनियाले नै हुने गरेको छ ।
बूढापाकाहरूमा हुने निमोनियाको लक्षण र यसले गर्ने असर अन्य उमेर समूहको दाँजोमा फरक हुन्छ । वृद्घावस्थामा निमोनियाको विकास र उपचारसमेत मन्द गतिमा हुने भएकाले लामो समयसम्म अस्पतालमा बस्नुपर्ने हुन्छ ।
निमोनिया अर्थात् न्युमोकोकल संक्रमणविरुद्घको खोप लगाउँदा बूढापाकाहरूलाई निमोनिया हुने जोखिम करिब ५० प्रतिशतले कम हुने औंल्याउँदै डा. कँडेल भन्छन्, ‘खोप लगाएका बुजुर्गहरूलाई निमोनिया भए पनि आईसीयूमा जाने स्थिति हुँदैन अर्थात् यसले कडा खाले निमोनिया हुने सम्भावना कम गर्छ ।’
यति मात्र नभई निमोनियाविरुद्घको खोपले मेनिन्जाइटिस (गिदीको झिल्ली वा जालो सुन्निने रोग), सेप्सिस (रगतमा संक्रमण) हुनबाट समेत जोगाउँछ । निमोनियाको खोप करिब २० वर्षसम्म प्रभावकारी हुन्छ । ६५ वर्षमा निमोनियाको खोप लिए ८५ वर्षमा पुन: अर्को खोप लगाउनुपर्छ ।यस्तै, बर्सेनि एक पटक इन्फ्लुएन्जा खोप अर्थात् फ्लु (मौसमी रुघाखोकी) विरुद्घको खोप लिँदासमेत बूढापाकालाई धेरै राहत हुन्छ । मौसमी रुघाखोकीको प्रभावकारी औषधि छैन । बचाउ नै यसको राम्रो उपचार हो । फ्लुको खोप लगाउन हामी नेपालीलाई कात्तिक/मंसिर नै उपयुक्त समय हो । यो मौसममा जाडो सुरु हुने भएकाले रुघाखोकीको सम्भावनासमेत उच्च हुन्छ । यो खोप बर्सेनि लगाउनुपर्छ ।
फ्लु जटिल भएपछि निमोनिया हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा यसको उपचार झन् जटिल हुन जान्छ । यस्तो समस्याले गर्दा युवासमेतको मृत्यु हुने गरेकाले फ्लुबाट जोगिने खोप धेरै उपयोगी मानिन्छ । जनै खटिरा (हर्पिज जोस्टर) विरुद्घको खोपसमेत बूढापाकाहरूका लागि अति उपयोगी मानिन्छ ।
सिंगल वा हर्पिज जोस्टर वेरिसेला जोस्टर भाइरसले गर्दा हुन्छ । यो भाइरस नै चिकेन पक्सको कारण हो । यो उमेरमा रोग प्रतिरोधक क्षमतामा धेरै कमी आउने भएकोले बूढापाकालाई जनै खटिराले धेरै दु:ख दिने गरेको छ । जनै खटिराविरुद्घको खोप एक पटक लगाउनुपर्छ । यो खोप ५० वर्षमाथिकाले लगाउनु उपयुक्त हुन्छ ।
यस्तै डिप्थेरिया, पर्टुसिस र टिटानसका लागि ६५ वर्षमाथिकालाई दिइने ‘टीडीएपी (टिटानस, रिड्युस्ड डोज डिप्थेरिया एन्ड असेल्युलर पर्टुसिस)’ खोप समेत आवश्यक हुन्छ । सीडीसीका अनुसार, हरेक १० वर्षमा यसको बुस्टर मात्रासमेत लिनुपर्छ ।
यस्तै, बूढापाकाहरूलाई हेपाटाइटिस बी, हैजा, टाइफाइड, हेपाटाइटिस ‘ए’ लगायतका खोपको समेत सिफारिस गरिन्छ ।
डा. कँडेल ज्येष्ठ नागरिक रोग विशेषज्ञ वा नभए फिजिसियनसँग सल्लाह गरेर बूढापाकाहरूले आफूअनुकूल विभिन्न खोप लिन सक्ने बताउँछन् ।
खोप के हो ?खोपले कुनै विशेष रोगद्वारा भविष्यमा हुने हमलाविरुद्घ तपाईंको रोग प्रतिरोधक प्रणालीलाई प्रेरित गर्छ । केही खोप भाइरल र ब्याक्टेरियल प्याथोजन (कीटाणु) दुवैविरुद्घ हुन्छन्, वा रोग उत्पन्न गर्ने कारकविरुद्घ हुन्छन् ।
जब कुनै कीटाणु तपाईंको शरीरमा प्रवेश गर्छ, त्यति खेर तपाईंको शरीरमा भएको रोग प्रतिरोधक प्रणालीले त्यो कीटाणु/जीवाणु विरुद्घ लड्न ‘एन्टिबडी’ तयार पार्छ । यो एन्टिबडीले जीवाणुलाई पराजित गर्दा हामीलाई रोगले असर गर्दैन तर यो पराजित हुँदा हामी रोगको चपेटामा पर्छाैं । खोपले हाम्रो शरीरमा त्यो रोगविरुद्घ एन्टिबडी उत्पन्न गर्छ । यसले मानव शरीरलाई बिनाकुनै प्रभाव रोगसँग लड्न सक्षम बनाउँछ ।
हाम्रो शरीरमा कुनै खास रोगबाट जोगाउने खोप प्रवेश गरेपछि, त्यतिखेर हाम्रो शरीरलाई वास्तवमा त्यो रोगको कीटाणुले आक्रमण गरेको आभास हुन्छ । र, शरीरको रोग प्रतिरोधक प्रणालीले एन्टिबडी निर्माण गर्छ । जब भविष्यमा यो रोगको वास्तविक हमला हुन्छ, त्यतिखेर हाम्रो शरीरमा यो रोगको एन्टिबडी पहिलेदेखि नै हुन्छ ।
यदि खोप लगाइएको व्यक्ति त्यो खास रोगको सम्पर्कमा आयो भने उसको इम्युन सिस्टम (रोग प्रतिरोधक प्रणाली) ले यसलाई चिन्छ र तुरुन्त एन्टिबडी उत्पन्न गर्छ । यो एन्टिबडीले रोगसँग लडेर त्यसलाई समाप्त पार्छ ।