सयौं बिघा बाँझै

नेपालगन्ज — कोहलपुर नगरपालिका, खजुरा र बैजानाथ गाउँपालिकाका सयौं बिघा जमिन अहिले बाँझै छन् । धान बालीपछि सिँचाइ अभावमा किसानले हिउँदे बाली लगाउन पाएका छैनन् । सिक्टा सिँचाइ आयोजनाले भनेको समयमा पानी नछाड्दा खेत बाँझै छन् ।

सिँचाइ अभावमा बाँकेको खजुरा गाउँपालिकास्थित बाँझो खेत । तस्बिर : ठाकुरसिंह थारू/कान्तिपुर

आयोजनाले गत जेठमै नहरमा पानी छोड्ने सार्वजनिक सूचना जारी गरेको थियो । नहरमा पानी नआएपछि धान खेतीका लागि आकाशे पानीको भर पर्नुपरेको छ । ‘एक–दुई वर्षदेखि सिक्टा नहरको पानी आउने हल्ला सुन्दै आएको छु । तर, यस वर्ष पनि आएन,’ खजुरा गाउँपालिका, उढरापुरका रामनरेश अहिरले भने, ‘पहिले सिक्टाको पानी आउने आस लाग्थ्यो । अब त्यो पनि मर्‍यो ।’ उक्त क्षेत्रमा सिँचाइका लागि प्राकृतिक खोलानाला र नदीको अभाव छ ।

Yamaha

सिक्टा सिँचाइ आयोजना नेपालगन्जका प्रमुख कृष्ण नेपालले तत्काल नहरमा पानी छोड्ने निर्णय नभएको बताए । ‘डुडवा नहरको काम समयमै नसकिएपछि खजुरा क्षेत्रमा पानी छोड्न नसकिएको हो । हाल छोड्ने अवस्था पनि छैन,’ उनले भने, ‘अहिले मूल नहरबाटै पानी छोडिएको छैन । काम सम्पन्न नभएसम्म खेतमा पानी पुग्न सक्दैन ।’
डुडवा नहर निर्माणको काम ०७३ जेठदेखि सुरु गरी ०७५ पुुस ४ सम्म पूरा गर्ने लक्ष्य थियो । तर, पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माणको काम अगाडि बढाएन । उक्त निर्माण कम्पनीले ३२.२ किमि डुडवा नहर निर्माण र सिक्टाको मूल नहरलाई डुडवा शाखा नहरसँग जोड्न ९८ करोड ८१ लाख रुपैयाँमा ठेक्का पाएको थियो ।
डुडवा नहर निर्माणपछि त्यस क्षेत्र आसपासका १६ हजार हेक्टरमा सिँचाइ पुग्ने लक्ष्य छ । पप्पुले समयमै काम नगर्दा आयोजनाको काम थप २ वर्ष पछाडि धकेलिएको हो । डुडवा नहर निर्माणकै विषयलाई लिएर पप्पु कन्स्ट्रक्सनले उच्च अदालतमा रिट दर्ता गरेको थियो । उच्च अदालतले तत्कालका लागि कालोसूचीमा नराख्न आदेश दिएको छ ।
आयोजनाको काम पछाडि धकेलिँदै गएपछि बाँके पश्चिम क्षेत्रका किसानको सिँचाइ सपना पूरा हुन नसकेको हो । यो आयोजना ०६१/६२ मा सुरु भएको हो । निर्माणमा ढिलाइ र बनेका संरचना भत्किँदै गएपछि आयोजना पूरा हुने समय धकेलिँदै गएको हो ।
निर्माणको काम ०७६/७७ मा सम्पन्न गर्ने पछिल्लो समय तोकिएको छ । ‘सिक्टाको पानी खेतसम्म आएको भए बाँझै हुने थिएनन् । ट्युबेलबाट सिँचाइ गर्न सम्भव पनि छैन,’ बैजनाथ गाउँपालिकाका जितेन्द्र चौधरीले भने, ‘छिट्टै पानी आउँछ भनेर कुरेर बस्यौं तर पानीको अत्तोपत्तो नै भएन ।’