बेलायती विश्वविद्यालयबाट तीनसय नेपाली दिक्षित

काठमाडौँ — बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट करिब तीनसय नेपाली विद्यार्थी दिक्षित भएका छन् । मेट्रोपोलिटिनको सहकार्यमा काठमाडौंको कमलपोखरीमा सञ्चालित इस्लिङटन कलेजबाट स्नातक उपाधी हासिल गरेका २ सय ९१ विद्यार्थी दिक्षित भएका हुन् ।

काठमाडौंमा आयोजित दिक्षान्त कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डोमेनिक पामर ब्राउनले दिक्षीत विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका हुन् । ब्राउनले विदेशी विश्वविद्यालयको कोर्ष अध्ययन गराएको इस्लिङटनले कलेजले नेपाललाई आवश्यक योग्य जनशक्ति उत्पादन गरिरहेको बताए । कलेजका अध्यक्ष शुलभ बुढाथोकीले अन्तर्राष्ट्रिय स्तरको शिक्षा लिन सफल विद्यार्थीले सोही स्तरको प्रगति हासिल गरेको बताए ।

बिएस्सी अनर्स कप्युटिङमा स्नताक गरेका १ सय २३ जना, बिएस्सी अनर्स कम्प्युटर नेटवर्किङ एन्ड आइटी सेक्युरिटीका ७१ जना, मल्टिमिडिया टेक्नोलोजीका ४६ र बिबिएका ५१ जना विद्यार्थी दिक्षित भएको उनले बताए । उक्त कलेजले शिक्षा मन्त्रालयबाट अनुमति लिएर बेलायतको कोर्ष नेपालमै पढाइरहेको छ । यही कलेजमा पढेका तीन जनालाई मेट्रोपोलिटियन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययन गर्न छात्रवृत्ति पाउने भएका छन् । गतवर्षसम्म एक जनाले छात्रबृति पाउने गरेकोमा यसवर्ष तीनजनाले छात्रवृत्ति पाएका हुन् ।
सरुन दाहाल एमस्सी आइटी डेटा एनालाइटिकमा, निसु अग्रवाल र थुक्तेन लामाले एमए मार्केटिङ अध्ययन गर्न छात्रवृत्ति पाएका हुन् । उनीहरुले विश्वविद्यालयमा खान, बस्न र पढ्न कुनै शुल्क तिर्नु पर्दैन । ‘एकजनालाई ३३ हजार पाउण्ड बराबरको छात्रवृत्ति हो,’ बुढाथोकीले भने ।