बीआरआई हाम्रा लागि उपयोगी हुन सक्छ : प्रधानमन्त्री

काठमाडौँ — नेपालका निम्ति चीनजस्तो छिमेकी जोसँग मन छ र सामर्थ्य पनि छ । सहयोगी भावना छ, तत्परता छ र सहयोग र सहकार्य गर्ने क्षमता पनि छ । यस्तो छिमेकीले यस प्रकारले अझ खुलापनका साथ अगाडि बढ्ने नीति लिनु र उपलब्धिहरूमा साझेदारी गर्ने मनसाय राख्नु र तदनुसारका व्यवहार अपनाउनु नेपालका लागि धेरै खुसीको कुरा हो ।

प्रधानमन्त्रीका रूपमा दोस्रो पटक चीन भ्रमणमा आउनुभएको छ । यसको उद्देश्य र अपेक्षाबारे प्रकाश पारिदिनुहुन्छ कि ?प्रधानमन्त्रीका रूपमा म दोस्रो पटक चीन भ्रमणमा आएको छु । अहिले फरक प्रसंगमा भएको यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउने र अझै गहिराइमा पुर्‍याउने छ । दुई वर्षअगाडिको मेरो भ्रमणले दुई देशबीचको सम्बन्धमा कोसेढुंगाको काम गरेको थियो । पूर्वाधार विकास र पारवहनका क्षेत्रमा चीनसँग भएका सम्झौताले जुन योगदान गरेका थिए, त्यसकै जगमा आज दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुर्‍याउने काम भएको छ ।

Yamaha

………………………………

  • चीनले अख्तियार गरेको नियन्त्रित र अनुकूल समाजको उदार नीतिबाट हामी सिक्न सक्छौँ, यी सबै अनुभव र गरिबी निवारणमा चीनले गरेको अद्वितीय सफलताको अनुभव हाम्रा लागि महत्त्वपूर्ण हुनेछ
  • मेरो पहिलो भ्रमणले द्विपक्षीय सम्बन्धमा कोसेढुंगाको काम गरेको थियो, त्यतिबेला भएको पूर्वाधार विकास र पारवहन सम्झौताकै जगमा सम्बन्धले नयाँ उचाइ लिएको छ………………………………

दुईपक्षीय लाभका लागि मैत्रीसम्बन्धलाई अझ माथि पुर्‍याउन, अझ सुदृढ भरोसा, एकअर्काप्रतिको अपेक्षा र सद्भाव बोकेर मित्रताका सिँडी थप्न म चीन भ्रमणमा आएको छु । नेपाल र चीनबीच बहुआयामिक यातायात सञ्जाल विकास गरी दुई देशबीचको पर्यटन व्यापार तथा वाणिज्य र जनस्तरको सम्बन्ध विकास गर्न, हवाई र रेल सम्पर्क विकास गरी चीनको गतिशील अर्थतन्त्रमार्फत नेपाललाई बाहय विश्वसँग जोडेर प्रगतिशील, गतिमान र समुन्नत राष्ट्र बनाउने मेरो सपना रहेको छ । कृषिको आधुनिकीकरण गर्न, उद्योगलाई समयानुकूल आवश्यकताअनुसार अगाडि बढाउने र दक्ष जनशक्ति उत्पादन तथा कृषि प्रवद्र्धन गर्ने कुरामा नेपाल सरकारले ध्यान दिँदै आएको छ । यस्ता विषयमा चीनसँग असाधारण सफलता र अनुभव छ, नेपालको विकासमा सहयोग पुर्‍याउने भावना पनि छ । तत्परता तथा सामर्थ्य पनि छ ।
यस सन्दर्भमा महामहिम चिनियाँ राष्ट्रपति सी चिनफिङले अगाडि सार्नुभएको बीआरआई एउटा गतिलो पहल हो । बीआरआई सबैका लागि उपयोगी हुन सक्नेछ । नयाँ युगमा नेपाल-चीन सम्बन्धलाई मजबुत बनाएर साझा जित खोज्न म चीन भ्रमणमा आएको छु ।सन् १९७८ मा सुधार तथा खुलापन नीति अँगालेपछि चिनियाँ समाजमा ठूलो परिवर्तन आएको छ, चीनको सुधार र खुलापन नीतिबारे तपाईंको के धारणा छ ?नयाँ चीन बनेपछि विकासका अनेक प्रयास चीनले गरेको छ । सन् १९७८ मा खुला नीति अपनाएपछिका चार दशकमा चीनले चौतर्फी उपलब्धि, प्रगति र आर्थिक उन्नति हासिल गरेको छ । विज्ञान-प्रविधि, सञ्चार, यातायातलगायत क्षेत्रमा गरेको विकास र मानवीय संसाधनमा गरेको प्रगति, शिक्षा र स्वास्थ्य क्षेत्रको प्रगति अथवा सम्पूर्ण रूपमा गरेका विकासलाई हेर्ने हो भने तिनले आफैँ बताएका छन्, खुला नीतिको प्रभाव कस्तो रहयो भन्ने ।
वास्तवमा केही दशकयता विशाल जनसंख्या र ठूलो भूगोललाई समृद्धिको बाटोमा यति छोटो समयमा अगाडि बढाउनु सजिलो थिएन । खुला नीति र यसको कार्यान्वयन गर्न सक्षम नेतृत्वले जुन कौशल देखाएको छ, त्यसले चिनियाँ नीति ठीक छ भन्ने पुष्टि गरेको छ ।खुलापन र सुधारबाट चीनमा आएको परिवर्तनले नेपाल-चीन आर्थिक व्यापारिक आदानप्रदानमा के महत्त्व राख्छ ?बोआओ फोरममा महामहिम चिनियाँ राष्ट्रपति सी चिनफिङले अझ खुलापनका साथ चीन अगाडि बढ्ने उद्घोष गर्नुभएको थियो । अर्थात् चीनले आफ्नो भूमिकालाई अझ प्रभावकारी ढंगले अगाडि बढाउँछ । चीनमा मात्र होइन, त्यसभन्दा बाहिरका सहयोग र सहकार्यका क्षेत्र पनि विस्तार हुन्छन् भन्ने यसबाट प्रतिबिम्बित भएको छ । चीनको असर अवश्य नै जबरजस्त पर्नेछ । मैले विश्वास लिएको छु, सकारात्मक असर नै पर्नेछ । यस मामलामा नेपाल जो आफ्ना राजनीतिक अधिकार प्राप्तिका माग र आन्दोलनलाई सफलतापूर्वक टुंग्याएर स्थायित्वमा प्रवेश गरेको छ । स्पष्ट नीतिसाथ सुशासन र विकासका मार्ग अगाडि बढेका छन् ।
त्यसमा बेल्ट एन्ड रोड इनिसिएटिभ अथवा अरू खुलापनका नीति, सहयोग र सहकार्यमा अवश्य नै सराहनीय छन् । र, त्यसमा पनि नेपालका लागि सकारात्मक र आसलाग्दा छन् ।तपाईंको नेतृत्वमा बहुमतको स्थिर सरकार बनेपछि चिनियाँ लगानीलाई कुन रूपले अगाडि बढाउँदै हुनुहुन्छ ?हामी सबैलाई थाहा छ, नेपाल केही अगाडिसम्म निरंकुश सामन्ती नियन्त्रणकारी व्यवस्थाभित्र रहिआएको थियो । विश्वमा तीन प्रकारका राजनीतिक प्रणालीमा वैचारिक र व्यावहारिक संघर्षहरू हुने गरेका छन् । यी तीन प्रकारका राजनीतिक प्रणालीमा एउटा सम्पूर्ण रूपमा नियन्त्रणकारी प्रणाली हो भने अर्को आफूलाई अनियन्त्रित गर्ने नियन्त्रणहीन प्रणाली ।
त्यसैगरी तेस्रोचाहिँ देश र जनता तथा मानव जातिको कल्याणका लागि समुचित ढंगले नियन्त्रण र सन्तुलन गरी आवश्यक उदारतासहितको व्यावहारिक नीतिका साथ अगाडि बढ्नुपर्छ भन्ने प्रणाली । अथवा देश र जनताप्रति उत्तरदायी हुनुपर्छ र उनीहरूको हितप्रति केन्द्रित हुनुपर्छ भन्ने प्रणाली । यी प्रणालीमध्ये सबैलाई नियन्त्रण गर्ने प्रणाली पनि होइन र सबै खुला हुनुपर्छ । सम्पूर्ण रूपमा मुनाफावादी प्रणाली पनि होइन । जो सही हुनुपर्छ, त्यही हुनुपर्छ भनेर चीनले भनेजस्तै नेपालले सही नीति अगाडि बढाएको छ । यो सही नीति अहिले आएर कोसेढुंगाका रूपमा स्थापना भएको छ । प्रणालीगत हिसाबले, कार्यदिशाका हिसाबले, शैलीका हिसाबले, व्यवहारका हिसाबले र राजनीतिक स्थायित्व र शान्तिपूर्ण वातावरणका हिसाबले म के भन्न चाहन्छु भने नेपालमा अब राजनीतिक स्थिरता छ । दृढ इच्छाशक्ति भएको सरकार छ । त्यो इच्छाशक्तिलाई कार्यान्वयन गर्न बहुमतको सरकार छ ।
स्थानीय तहमा पनि अत्यधिक बहुमतको सरकार छ । पपुलर जनमतका हिसाबले पनि अत्यधिक बहुमत साथ छ । यी सबै अनुकूलताले अब नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेको छ । आर्थिक समृद्धिको युगमा प्रवेश गर्दा स्वाभाविक रूपमा प्रयासहरू पर्याप्त हुँदैनन् । यस्तो अवस्थामा छिमेकी र मित्रहरूका सहयोग र सहकार्यलाई समुचित ध्यान दिनु र साथमा काम गर्न र त्यसलाई प्रोत्साहित गर्न वाञ्छनीय हुन्छ । नेपालमा चिनियाँ लगानी बढिरहेको छ । चिनियाँ लगानीप्रति नेपालको सकारात्मक दृष्टिकोण छ । नेपाल चीनसँग मिलेर आफ्ना विकासका आवश्यकता र दुनियाँको अर्थतन्त्रलाई नै सबल र न्यायोचित बनाउने दिशामा क्रियाशील छ ।चीनले सन् २०२० सम्म सम्पूर्ण रूपमा गरिबी निवारण गर्ने घोषणा गरेको छ । गरिबी निवारणमा चीनको सफलताबाट नेपालले के अनुभव लिन सक्छ ?नेपाल प्राकृतिक हिसाबले अत्यन्त सुन्दर र स्रोतका हिसाबले सम्पन्न मुलुक हो । विद्वान् पुर्खाका सन्तान हुन् नेपाली । मिहिनेती र इमानदार भनेर दुनियाँमा मानिएका जनता बस्ने देश हो नेपाल । अहिले पनि नेपालका ६० प्रतिशतभन्दा बढी नागरिक शारीरिक श्रम गर्न सक्षम र सक्रिय छन् । त्यस्तो अवस्थामा सरकारका नीति र अपेक्षा तदनुसारकै छन् । विकासका दृष्टिकोण, भ्रष्टाचार नियन्त्रण, सुशासन, कानुनी राज्य सबै कुरामा हामी स्पष्ट छौँ । तमाम कुरामा चीनको अनुभवबाट हामी सिक्न सक्छौँ ।
अनुशासित र दृढ संकल्पका साथ एकताबद्ध भएर अगाडि बढ्यौँ भने निश्चय नै विकासको बाटोमा तीव्र गतिले अगाडि जानेछौँ । उत्पादन र उत्पादकत्व वृद्धिमा, रोजगारी बढाउने कुरामा, आत्मनिर्भरता बढाउने, आयात घटाउने र निर्यात बढाउने कुरामा हामीले ध्यान दिएका छौँ । चीनले उदार नीति अख्तियार गरेको छ र अनियन्त्रित होइन, नियन्त्रित र अनुकूल समाजको उदार नीतिबाट हामी सिक्न सक्छौँ । यी सबै अनुभव लिँदा अवश्य पनि गरिबी निवारणमा चीनले गरेको अद्वितीय सफलताको अनुभव हाम्रा लागि महत्त्वपूर्ण हुने नै छ ।
(चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँग बेइजिङस्थित नेपाली दूतावासमा चीन भ्रमणमा केन्द्रित रहेर कान्तिपुर दैनिकका लागि चेतनाथ आचार्यले गरेको कुराकानी) :