पारिजातको त्यो कोठा

ललितपुर — पारिजातको कोठामा छिर्नेमध्ये अधिकांशको ध्यान उनको सिरानीछेउ राखिएका किताबको लहरमा पर्छ ।

त्यहाँ टोनी मरिसनको ‘सङ अफ सोलमन’, सलमान रुस्दिको ‘मिडनाइट्स चिल्ड्रेन’, फ्रेड्रिक एन्जेल्सको ‘एन्टी–दुरिङ’, डोरिस लेसिङको‘द गोल्डेन नोटबुक’, डेनिस लिभर्टपको ‘रिलर्निङ द अल्फाबेट’, कजु इसिंगुरोको ‘एन आर्टिस्ट अन अ फ्लोटिङ वल्र्ड’ लगायत तीन दर्जन किताब छन् ।

Yamaha

‘पारिजात केपढ्दिरहिछन् भन्ने कुरामा धेरैको चासो छ,’ पारिजातको कोठा रुग्न बसेकी एलिना व्यञ्जनकारले भनिन्, ‘उहाँका साथीहरू आउनुभयो भनेचाहिँ यो टेबुल यता थियो, यो दराज उता थियो, यो सामान यस्तो थियो भन्न थाल्नुहुन्छ । पारिजातको कोठा सबैलाई आकर्षण बनिरहेको छ ।’
पाटनको नागबहालस्थित सामुदायिक स्वास्थ्य सेवा केन्द्रको पहिलो तला उक्लिनासाथ सिधै पारिजातको कोठामा पुगिन्छ अचेल । निश्चय नै, यो उनकै कोठा चाहिँ होइन । कात्तिक ३० पछि यो कोठा स्वास्थ्य केन्द्रको पुरानै स्वरूपमा फर्किनेछ ।
फोटो काठमाडौं इन्टरनेसनल फोटो फेस्टिभलका लागि आयोजक फोटो सर्कलले नागबहालमा पारिजातको कोठा रिक्रिएट (पुनर्निर्माण) गरेको हो । ‘आफ्नै एउटा कोठा’ शीर्षक प्रदर्शनीमार्फत महिला स्वतन्त्रताका लागि उनको छुट्टै स्थान हुनु कत्तिको आवश्यक छ भन्नेबारे प्रश्न उठाउन खोजेको आयोजकले जनायो । पारिजातको कोठा छिर्नुअघि ढोकामै टाँसिएको भर्जिनिया वुल्फको यो भनाइ नपढी सुख छैन— ‘महिलालाई बाहिरी संसारसँग सम्बन्ध स्थापना गर्न बन्देज लगाइन्छ भने उनलाई घरभित्रै पनि आफ्नो मात्र भन्न मिल्ने कोठा उपलब्ध हुँदैन ।’
कोठाभित्र एक जना मात्र अट्ने खाट छ, छेउमा टेबुल–कुर्सी छन् । तह–तह भएको काठको भित्ते सो–केसमा खत्र्याङमत्र्याङ सामान छन् । पारिजातका तस्बिर, सम्मान–पत्र र ऐना पनि भुन्डयाइएका छन् । उनले आयोजना गरेको लेखिकाहरूको सम्मेलनका तस्बिर एउटा कुनामा राखिएको छ । सिरानीछेऊको टेबुलमा रातो रङको ल्यान्डलाइन टेलिफोन, रेड लेभलको बोत्तल, गिलास र जीर्ण अवस्थाको रेडियो देखिन्छ । खाटमुन्तिर प्लास्टिकका एक जोडी चप्पल छन् ।
‘यी सबै सामान पारिजातकी बहिनी सुकन्या वाइबामार्फत लिएका हौं,’ फोटो फेस्टिभलमा पारिजातको कोठा हेर्ने जिम्मा पाएकी एलिनाले भनिन्, ‘कार्यक्रम सकिएपछि पारिजात स्मृति केन्द्रमै फर्काउँछौँ ।’
कोठाभित्र पस्नेहरूले पारिजातले संगालेका पुस्तकसँगै उनको हस्तलिपिमा विशेष चासो दिने गरेको एलिनाले जनाइन् । त्यहाँ ‘अनिदो पहाडसँगै’ उपन्यासको हस्तलिखित पाण्डुलिपि उपलब्ध छ । रजिस्टरजस्तो लामो कापीमा नीलो मसीले लेखिएको पाण्डुलिपि हेर्नेहरू दंग पर्ने गरेका छन् ।
फेस्टिभलको ‘सार्वजनिक जीवनमा महिला’ विधाअन्र्तगत पारिजातको कोठा रचना गरिएको हो । यसलाई विम्बका रूपमा प्रयोग गरिरहँदा स्वास्थ्य केन्द्रका अन्य दुई कोठामा भने नेपालमा महिला शिक्षाको विकास क्रम देखाउन खोजिएको छ । शिक्षाका लागि महिलाले गरेको पहल र संघर्षका कथा तस्बिरमार्फत देख्न सकिन्छ । नागबहालमै अर्को विधाको प्रदर्शनी पनि चलिहरेको छ । स्वास्थ्य केन्द्रको ठीक सामुन्ने रहेको ‘कालो १०१’ ग्यालरीमा ‘आइल्यान्ड्स अफ आवर बडिज’ शीर्षकको मल्टिमिडिया कला प्रदर्शनी अवलोकन गर्न सकिन्छ ।
आफ्नो भौतिक शरीरलाई लिएर महिलाहरूका अवधारणालाई फोटो, टेक्स्ट, साउन्ड, भिडियो, साउन्ड इफेक्टहरूमार्फत देखाउन खोजिएको छ । किपा मास्के, सोनम छयोकी लामा र इरिना गिरीको संयुक्त सिर्जना यसमा एकाकार गराइएको छ । विभिन्न विवरणमार्फत शरीर र व्यक्तिबारे बुझ्न/बुझाउन खोजिएको छ । ‘यो फोटो काठमाडौंले नै निर्माण गरेको प्रोजेक्ट हो,’ कार्यक्रममा सुश्रुत आयार्चले भने, ‘शरीरसँगको हाम्रो सम्बन्ध के हो भन्ने थिममा बनाइएको हो ।’फोटो काठमाडौंअन्तर्गत पुलचोकको लाबिम मल, मंगलबजार, ठमेलको छाया सेन्टर, वसन्तपुरलगायत अनेक प्रदर्शनी चलिरहेका छन् ।