‘ट्याक्सीले ठग्यो भन्छन्, ट्याक्सीलाई सरकारले ठगेको कसैले देख्दैनन्’

विष्णु चौहानले २०५४ सालबाट ट्याक्सी चलाउन सुरू गरे। तीन वर्षको अनुभवपछि भारतको दिल्ली गए। आफन्तको सहयोगमा ट्याक्सी किनेर चलाए। बीचमा केही समय दुबई पनि पुगे।

पाँच वर्ष विदेशमा काम गरेपछि २०६२ मा नेपाल फर्केका उनले यहाँ आएर फेरि ट्याक्सीकै स्टेयरिङ समाते।

तर, यो पाँच वर्षमा काठमाडौंको ट्याक्सी व्यवसाय त्यस्तो थिएन, जस्तो उनले छाडेर गएका थिए।

विष्णुका अनुसार २०५७ सालसम्म काठमाडौंमा ट्याक्सीप्रति विश्वास थियो। यात्रुहरू ढुक्कैले चढ्थे। मिटरमा जाने कि नजाने भन्ने प्रश्नै थिएन। फलानो ठाउँ जाने हो भनेर कसैले सोध्दैनथे। छतमा पहेँलो रङको गाडी देख्नेबित्तिकै मान्छे ‘ट्याक्सी’ भन्दै कराउँथे। भित्र छिर्थे। फलानो ठाउँ जाउँ भन्थे। चालक चुपचाप मिटरको ‘फ्ल्याग डाउन’ गर्थे। यात्रुलाई गन्तव्य पुर्याइदिन्थे। मिटरमा उठेको भाडा लिन्थे।

हो, एउटा अर्को कुरा खुब प्रचलित थियो- टिप्स। ट्याक्सी चढ्ने धेरै यात्रुहरू २०-५० रूपैयाँ थपेरै दिन्थे।

अचेल टिप्स दिनु त परको कुरा, मिटरमै उठेको पैसा तिर्नधरि उपभोक्ता डराउँछन्। उनीहरूलाई मिटर दुरूस्त छ भन्ने भरै छैन। ट्याक्सी चालकले ठगी गर्दैनन् भन्ने धेरैलाई विश्वासै छैन।

पाँच वर्षमै ट्याक्सीलाई हेर्ने दृष्टिमा यस्तो आनका तान कसरी परिवर्तन आयो?

अनुभवी चालक विष्णु आफैं छक्क छन्।

‘मैले छोड्दा र फेरि फर्केर ट्याक्सी चलाउँदा धेरै परिवर्तन भइसकेछ। पहिले जुन सम्मान थियो, त्यो देखिनँ। जो पनि हामी ट्याक्सी ड्राइभर भनेका त ठगै हौं जस्तो गर्छन्,’ उनले भने, ‘सबै त्यस्ता हुँदैनन्। कसैको नियत नै होला। कतिका बाध्यात्मक कारण पनि छन्।’

एउटा सार्वजनिक सेवा र पेसाप्रतिको विश्वास नै धर्मराउने अवस्था आउनुका बाध्यात्मक कारण के होलान् त?

केही दिनयता हामीले ट्याक्सीको मनपर्दी विषयमा ट्राफिक प्रहरी, नापतौल तथा गुणस्तर विभाग लगायत सम्बन्धित पदाधिकारीसँग भेटेर समाचार शृंखला प्रकाशित गर्दै आएका छौं। यही सिलसिलामा हामीले केही ट्याक्सी चालकहरूसँग भेट्यौं। दिनहुँ हजारौं यात्रुको सराप खानुपर्ने गरी किन ठगी गर्छन् उनीहरू?

ट्याक्सी ठगी बढ्नुमा भाडा दर र त्यसमा पनि मिटर चलाउँदा जुन तरिकाले भाडा उठ्छ त्यसलाई मुख्य दोषी देख्छन्, विष्णु।

उनका अनुसार ट्याक्सी चढ्नेबित्तिकै जति भाडा उठ्छ, त्यो एकदमै कम छ। यसलाई ‘फ्ल्याग डाउन’ भाडा भनिन्छ। विदेशतिर यस्तो भाडा बढी हुन्छ भने प्रतिकिलोमिटर भाडा कम। यहाँ भने ठिक उल्टो छ।

‘प्रतिकिलोमिटर भाडामा हाम्रो खासै गुनासो छैन,’ उनले भने, ‘फ्ल्याग डाउन भाडा भने हामीलाई मर्का पार्ने खालको छ।’

उनले अन्य सार्वजनिक सवारीको उदाहरण दिए।

‘बस वा माइक्रोमा तपाईं जतिसुकै नजिक जानुस्, कम्तीमा १५ रूपैयाँ भाडा तिर्नैपर्छ। त्यसपछि अलि टाढा जाने यात्रुहरूले १८, २० वा २५ रूपैयाँ तिर्नुपर्छ। यस्तै नियम ट्याक्सीमा किन नलगाउने?’ उनले भने।

उनका अनुसार, ट्याक्सीमा पनि सुरूको भाडा महँगो हुनुपर्छ। त्यसपछि हरेक किलोमिटरमा उठ्ने भाडा कम। जबकि, सरकारले ट्याक्सी भाडा बढाउँदा पनि फ्ल्याग डाउन भाडा चार-पाँच वर्षयता बढाएको छैन।

‘संसारभरि सार्वजनिक गाडीको भाडा निर्धारण गर्ने मापदण्ड यही हो,’ उनले भने, ‘फ्ल्याग डाउन भाडा २-३ किलोमिटरकै आधारबाट सुरु हुन्छ। यसले नजिक जाने यात्रु लैजाँदा पनि चालकलाई मर्का पर्दैन। अहिलेको नियमअनुसार त टाढा जाँदा मात्र फाइदा छ। नजिक जाँदा पोसाउँदैन। त्यही भएर पनि हो, हामीकहाँ धेरै ट्याक्सीहरू नजिक-नजिक ठाउँ जान नमान्ने।’