घरदेखि विद्यालयसम्मै खेतीपाती

दाङ — शान्तिनगर २, विष्णुपुरका प्रकाश ओली साँझ–बिहान घरमै खेतीपाती गर्छन् । विद्यालय गएपछि पनि त्यहीँ काममा जुट्छन्, सँगै अध्ययन पनि । विद्यालयमा लगाएको तरकारी गोडमेल गर्छन् ।

दाङको शान्तिनगरस्थित जनकल्याण मावि सिमसुन्दरपुरमा खेतीसम्बन्धी ज्ञान हासिल गर्दै विद्यार्थी । तस्बिर : दुर्गालाल/कान्तिपुर

समय–समयमा सिँचाइ गर्छन् । कक्षाकोठामा भने यसैसम्बन्धी अध्ययन गर्छन् । सुरुमा यहाँ अध्ययनरत विद्यार्थी घरदेखि विद्यालयसम्म खेतीपाती गर्नुपर्दा झिंझो मान्थे । विस्तारै कृषिका विभिन्न नयाँ प्रविधि सिक्न थाले ।

Yamaha

त्यसपछि यसमै रमाउन थालेको बताउँछन् कक्षा १० मा अध्ययनरत ओली । उनको परिवारले खेतीपाती गरेरै जीविकोपार्जन गर्दै आएको हो । पहिले परम्परागत तरिकाले बालीनाली हुर्काउँथे । अहिले कृषि अध्ययन गरी खेतीपाती गर्न थालेका छन् ।
स्थानीय जनकल्याण मावि सिमसुन्दरपुरमा ९ देखि १२ कक्षासम्म बाली विज्ञान पढाइ हुन थालेपछि उनी जस्तै १ सय २५ विद्यार्थी खेतीपातीकै विषय पढिरहेका छन् । गाउँमै कृषि पढाइ भएपछि किसानका सन्तानलाई प्राविधिक ज्ञान हासिल गर्न सहज भएको छ ।
यस क्षेत्रका अधिकांश बासिन्दाको मुख्य पेसा कृषि हो । ‘पहिले पनि खेतीपाती गथ्र्यौं, त्यतिबेला ज्ञानबिना जथाभावी खेती हुन्थ्यो,’ ओलीले भने, ‘अहिले पंक्ति मिलाएर अर्को बोटसँग नटाँसिने गरी लगाउने, मल, चिस्यानको मात्रा मिलाउने र विभिन्न रोगबाट बचाउने उपाय सिकेर काम गरिरहेका छौं ।’
बाहिर महँगो शुल्क तिरेर पढ्नुपर्ने प्राविधिक शिक्षा घरनजिकै नि:शुल्क अध्ययन गर्न पाएपछि यस क्षेत्रका विद्यार्थी लाभान्वित भएका छन् । अभिभावक र विद्यार्थीको बाली विज्ञानप्रति आकर्षण बढेको छ । १० कक्षाकै प्रदीप रावत कृषि पढ्न गत वर्ष निजी विद्यालय छाडेर जन कल्याणमा भर्ना भए ।
‘गाउँमै प्राविधिक शिक्षा पढाइ हुन थालेपछि निजी विद्यालय छाडें,’ उनले भने, ‘अहिले पढेर तरकारी खेती गरी बिक्री गर्न थालेका छौं ।’ विद्यालयमा विद्यार्थीले विभिन्न समूह बनाएर फरक–फरक खालका खेती गरिरहेका छन् । एउटा कक्षामा ८ समूह छन् । समूहअनुसार खेतीका प्लट छन् ।
सबै समूहले आ–आफ्नो प्लटको संरक्षण गर्छन् । विद्यालय आएदेखि नै आफूले लगाएको तरकारी कस्तो भएको छ भनेर हेरदेख गर्न थाल्छन् । ‘बारी खन्छौं, क्यारी तयार गर्छौं र तरकारी लगाउँछौं,’ १० कक्षाकी नेत्रा ओलीले भनिन्, ‘दिनभर पढिसकेर घर जानुअघि पनि पानी हाल्छौं, गोडमेल गर्छौं ।’
विद्यार्थीहरू घरमा गएर परिवारलाई खेतीपाती कसरी गर्ने भन्ने सीप सिकाउँछन् । अभिभावक पनि दंग पर्छन् । हालसम्म परम्परागत निर्वाहमुखी कृषि पेसा अँगाल्दै आएका परिवार बालबालिकाले सिकाएअनुसार व्यावसायिक खेतीमा आकर्षित हुन थालेका छन् । ‘हामीले सिकाउँदा आमाबुवा अचम्म मान्नुहुन्छ । सिकेअनुसार खेती गर्दा राम्रो उत्पादन भएको छ,’ १० कक्षाकै आस्था विकले भनिन्, ‘घरमा व्यावसायिक खेती गरी आम्दानी गर्ने योजना बनाइरहेका छौं ।’
पहिले घरमा मौसमअनुसारका तरकारी खेती मात्रै गर्दै आएकोमा अहिले बेमौसमी खेतीको ज्ञान भएको ११ कक्षाका राजन ठाडामगरले बताए । ‘बेमौसमी तरकारीको माग बढी भएकाले फाइदा छ,’ उनले भने, ‘मैले घरमा पनि व्यावसायिक खेती थालेको छु । टामाटर, आलु, काउली र प्याजको खेती छ । राम्रो आम्दानी भइरहेको छ ।’
११ कक्षाकै बालिका ओली र नवीन गौतम तथा १० कक्षाका पाष्करकिरण ओली र नेत्रा ओलीले पनि कृषिमै सम्भावना देखेका छन् । वैदेशिक रोजगारमै जानुपर्दा पनि कृषिको ज्ञान उपयोगी हुने उनीहरूको बुझाइ छ । ‘अब विदेशमै गए पनि हामीसँग सीप हुनेछ,’ पाष्करकिरणले भने,‘हामी आत्मनिर्भर हुन सक्ने भएका छौं ।’
विद्यालयमा आधुनिक कृषि प्रणाली सिकेको देखेर तल्लो कक्षाका विद्यार्थी पनि आकर्षित भइरहेको विद्यालयका बाली विज्ञान विभाग संयोजक विनोद गैरेले बताए । ‘६ कक्षादेखि नै विद्यार्थी कृषि पढ्ने तयारी गरिरहेका छन् । अग्रज दाइ/दिदीहरूले पढ्दै खेती गर्दै गरेको देखेर उनीहरू सानैदेखि योजना बनाउन थालेका छन्,’ उनले भने, ‘अभिभावकहरू पनि यो शिक्षा पढाउन जोड गरिरहेका छन् । बिदाको दिन पनि विद्यार्थी विद्यालय आएर आफ्नो खेतीपातीको स्याहार गर्छन् ।’ विद्यार्थीलाई अनुसन्धानमूलक काममा पनि सहभागी गराउने गरेको शिक्षक लीलाराम डाँगीले बताए ।
विद्यार्थी र अभिभावकको मागअनुसार अब कृषिमा स्नातक तहको कक्षा पनि सञ्चालन गर्ने योजना रहेको प्रधानाध्यापक श्यामकुमार रायमाझीले बताए । विद्यालयमै सिँचाइ पोखरी निर्माण गरी प्रयोगात्मक अभ्यासका लागि विद्यालयको अधिकतम जग्गा उपयोग गर्ने योजना बनाइरहेको उनले बताए ।
विद्यालयको २८ बिघा १० कट्ठा जमिन छ । ‘विद्यालय र गाउँमा पर्याप्त जग्गा भएकाले विद्यार्थीलाई अभ्यास गर्न सजिलो छ,’ उनले भने, ‘साँझ–बिहान घरमा पनि अभ्यास गर्छन् । दिउँसो विद्यालयमा पनि राम्रोसँग सिक्न पाउँछन् ।’