गणित द्वार कि द्वारपाल ?

काठमाडौँ — सापेक्षताको सिद्धान्तका प्रतिपादक आइन्स्टाइनले गणितका साध्यहरू प्रमाणित गरिदिएकामा धेरै गणितज्ञसँग आभारी व्यक्त गरेका थिए । जीव विज्ञानको विख्यात ‘क्रमविकासको सिद्धान्त’ का प्रणेता चाल्र्स डार्बिन गणितमा कमजोर वैज्ञानिकको सूचीमा गनिन्छन् ।

गणितमा सामान्य मानिने त्रैराशिक विधि (ऐकिक नियम) साह्रै मन नपर्ने गाह्रो विधि भनेर उनले आफ्नो बायोग्राफीमा उल्लेख गरेका छन् । क्रस (कलमी) गरेर उत्पादन गरेको बालीले धेरै उत्पादन दिन्छ भन्ने कुरा प्रमाणित गर्न उनलाई गणित (अझ भनौं तथ्याकंशास्त्र) चाहिने भयो ।

गणितमा कमजोर डार्बिनले उतिबेलाका गिनेचुनेका गणितज्ञ मित्रलाई यसको परीक्षण गर्ने जिम्मा लगाएका थिए । डार्बिनको समस्या समाधान हुन केही वर्ष लाग्यो तथापि उनको यो परीक्षणको प्रश्नले तथ्यांकशास्त्रको एउटा शाखा ‘एक्स्पेरिमेन्टल डिजाइन’ को जन्म गरायो ।
भौतिकशास्त्री स्टिफेन हकिङले पनिआफ्नो विद्यावारिधिको शोधपत्रमा गणितीय गणना गर्न सहयोग गरेकामा गणितज्ञहरूलाई धन्यवाद व्यक्त गरेका छन् । विश्वले मानेका गणित प्रयोगकर्ताले पनि गणितका हरेक सिद्धान्त जान्नैपर्छ भन्ने होइन रहेछ । जानेको भए सुनमा सुगन्ध हुने थियो तर गणित प्रगतिको बाधक नै भने होइन रहेछ भन्ने कुरा माथिको प्रसंगबाट बुझ्न सकिन्छ ।
विद्यालय तहको कक्षा ११ र १२ मा गणित अनिवार्य गर्ने कि नगर्ने भनेर नयाँ पाठ्यक्रमको प्रस्तावित प्रारूपमा नेपालमा चलेको बहसमा थप प्रस्टता आउनु जरुरी छ भन्ने ध्ययले यो लेख लेखिएको हो । हामिले यसै दैनिकमा जेठ २९, २०७५ मा प्रकाशित लेखमा गणितलाई नजरअन्दाज नगरौं तथापि गणित सबैलाई अनिवार्य गराइनुपर्ने विषय होइन र गराइनु पनि हुँदैन भन्ने दृष्टिकोण राखेका थियौं ।
चर्चित गणितका गुरु ड्यान मेयर भन्छन्— गणितलाइ द्वार बनाऔं, द्वारपाल नबनाऔं । उनको भनाइ गणितमा असफल हुने सबै शिक्षार्थीको शिक्षा विद्यालय तहमै रोकिनु हुन्न भन्ने प्रसंगमा आएको हो । त्यसो भन्दैमा अहिले प्रस्ताव गरिएको पाठ्यक्रम प्रारूप निकै राम्रो छ भन्ने धारणा होइन ।
गणित शिक्षाको अनुसन्धाता बालचन्द्र लुइँटेल भर्खरै प्रकाशित आफ्नो सोधपत्रमा लेख्छन्— हाम्रा पाठ्यक्रम निर्माताको बुझाइमा पाठ्यक्रमलाई अध्यावधिक गर्नु भनेको खचाखच विषयवस्तुमाथि थप विषयको चाङ लगाउनु मात्रै हो भन्ने देखियो ।
अहिलेको प्रारूपले लगभग यस्तै विषय थप गरेर गएको छ । जीवविज्ञान पढ्ने विद्यार्थीले गणित पढ्न पाउने गरी परिमार्जन गरिएको भनिएको छ, जुन स्वागतयोग्य छ । आउन लागेको प्रारूपले अरू कुनै पनि विषय पढ्ने विद्यार्थीले गणित पढ्न चाहन्छ भने त्यो पढ्न मिल्ने वातावरण र गणित पढ्न नचाहने वा त्यसमा रुचि नहुनेलाई वैकल्पिक विषय पढ्ने अवसर दिन सक्नुपर्छ ।
चाहेको विषय पढ्न पाउने वातावरण भए शिक्षक र अभिभावकले विद्यार्थीलाई उनीहरूको रोजाइको उच्च शिक्षा र पेसाका लागि कुन विषय राम्रो हुन्छ, त्यही पढ्न परामर्श दिन सक्छन् । अहिले प्रस्ताव गरिएअनुसार विद्यार्थीलाई ७ वटा विषयको भार बोकाइनुभन्दा उनीहरूको रुचिअनुसार थोरै विषय पढाउन सकियो भने सबै विषयको पठनपाठन प्रभावकारी हुन सक्छ ।
माघ २०७३ मा नेपाल विज्ञान पत्रकार फोरमले गरेको अन्तरक्रियामा गणितमा विद्यार्थीको रुचि कम हुँदै गएको र गणित तथा विज्ञान पढ्ने विद्यार्थी पनि कम हुँदै गएको कुरा आएको थियो । सहभागीले त्यसो हुनुमा विधिमा त्रुटि, पाठ्यक्रमले स्थानीय स्रोतमा आधारित गणित प्रस्तुत नगर्नु, शिक्षकले गणितप्रति विद्यार्थीमा रुचि ल्याउन नसक्नु, शिक्षण प्रविधिमैत्री नहुनुलाई प्रमुख कारण जिकिर गरेका थिए ।
गणित एउटा प्रमुख विषय हो, त्यसमा शंका गर्नुपर्ने ठाउँ छैन । अन्य मुलुकले गणितमा प्रगति गर्न धेरै समय, स्रोत र साधन खर्चिएका छन् । कारण प्रस्ट छ— आजको सूचना प्रविधिको युगमा ‘विज्ञान, प्रविधि, इन्जिनिरिङ र गणित’ (स्टेम) क्षेत्रमा आफ्नो भविष्य खोज्नेले गणित अध्ययन गर्नैपर्छ । गणितीय अवधारणामा दक्ष हुने हो भने स्टेमका कुनै पनि क्षेत्रमा प्रगति हासिल गर्न सजिलो हुन्छ ।
तर, कक्षा ११ र १२ मा समेत गणित अनिवार्य गरिनुपर्छ भन्नुअघि हामीले व्यावहारिक पक्षलाई नजरअन्दाज गर्नु हुँदैन । पहिलो, सबैले स्टेम क्षेत्र वा गणित नभई नहुने विषय पढ्नुपर्छ भन्ने छैन । दोस्रो, एसईई परीक्षाको गणित विषयमा दुर्गम जिल्ला र कतिपय सुगम जिल्लाकै सामुदायिक विद्यालयका विद्यार्थीको उत्तीर्ण प्रतिशतले कक्षा ११ र १२ मा तत्कालै गणित विषय अनिवार्य गरिनु हुँदैन भन्ने संकेत गर्छ ।
फेल हुने विषय पढाउनै छाड्ने त भन्ने तर्क पनि धेरैले गर्ने गरेका छन् । हाम्रो आशय त्यस्तो होइन । कक्षा ११ र १२ मा अनिवार्य गरिनुअघि कम्तीमा कक्षा १० सम्मको गणितीय जग बलियो बनाएर विद्यार्थीको उत्तीर्ण प्रतिशत बढाइनुपर्छ ।
कुनै पनि प्रविधि, रोजगारीका अवसर, शैक्षिक पाठ्यक्रम र शिक्षण विधि स्थायी हुँदैनन् ।आफ्नो रुचिअनुसारको विषय पढ्न परामर्श र अवसर मिल्यो भने विद्यार्थी आफैंले खोजीखोजी पढ्न थालिहाल्छन् ।
गणित तत्कालै अनिवार्य नगरिँदा देश विकासको गति ढिलो हुन्छ भन्ने तर्कसँग हाम्रो सहमति छैन । भौतिक विकासलाई मात्र राष्ट्रको समग्र विकास मान्ने सोचमा परिवर्तन आउनु जरुरी छ । देश विकास गणित र विज्ञान प्रविधिले मात्र गर्छ भन्नेमा पनि हाम्रो असहमति छ ।
हाम्रो गणित पाठ्यक्रम आफैंमा अद्यावधिक हुन सकेको छैन । उच्च माविमा तीन दशकअघिकै खासै अद्यावधिक नगरिएका पाठ्यपुस्तकले बजार धानेका छन् । हाम्रो गणित पाठ्यक्रममा समावेश विषयहरू नै विश्वका धेरै देशमा पढिने र पढाइनेमध्ये पर्छन् तर हाम्रो शिक्षण पद्धति यति परम्परागत छ कि यसलाई सुधार नगरी भएकै छैन ।
आजको आवश्यकता राम्रो गणित पढाउने हुँदै हो तर त्योभन्दा पनि ठूलो आवश्यकता गणितलाई राम्रोसँग पढाउने भन्ने हो । प्रारूपमा अपेक्षा गरिएजस्तो विद्यार्थी केन्द्रित शिक्षण हाम्रा कमै शैक्षिक संस्थामा अभ्यास गर्ने गरिएको छ ।
साना कक्षाकोठामा धेरै विद्यार्थी राखेर गणितमा प्रश्न हल गर्न सिकाउन सकिएला तर विद्यार्थीमा सिर्जनात्मक सोच ल्याउन र उनीहरूलाई गणितीय अवधारणामा अब्बल बनाउन सकिँदैन । विद्यार्थी आफैंमा विविध पृष्ठभूमिबाट आउने हुँदा हरेकको सिकाइको तरिका र सिक्ने गति फरक हुन्छ । फरक पृष्ठभूमिका विद्यार्थीलाई गणित पढाएर सफल बनाउनु गाह्रो काम हो । यो सफल पार्न धेरै कुराको संयोजन र सहकार्य आवश्यक पर्छ । गणित अनिवार्य बनाउँदैमा समस्याको समाधान आफैं हुने होइन ।
सरकारी विद्यालयको गुणस्तरमा सुधार गर्न शिक्षणको गुणस्तरमा सुधार गर्नुपर्ने कुरा अनुसन्धानहरूले बताएका छन् । आधुनिक प्रविधि प्रयोग गर्ने भनिए पनि हाम्रा शिक्षकलाई त्यो दिशामा प्रशिक्षण नदिएसम्म प्रविधिअनुकूल पुस्तकहरू लेखिँदैनन् ।
कक्षाकोठामा प्रविधिको सहज उपलब्धता नभएसम्म प्रविधिमा आधारित अध्ययन–अध्यापन दिवास्वप्न मात्रै हुनेछ । अरू त टाढाको कुरा, शैक्षिक सत्र सुरु भएको लामो समयपछि पनि दुर्गम ठाउँमा विद्यार्थीलेपाठ्यपुस्तक किन्न नपाउने अवस्था हाम्रोमा छ । निरन्तर विद्यार्थी मूल्यांकन गर्ने पद्धति प्रयोग गर्ने भनिए पनि व्यवहारमा आउन सकेको छैन ।
वास्तविक सिकाइमा आधारित निरन्तर मूल्यांकन पद्धति प्रयोगमा नआएसम्म देशका सबै भूभागमा गणितका शिक्षकहरूको सहज उपलब्धता हुँदैन । अहिलेको हाम्रो ध्यान कक्षा १० सम्मको गणित विषयको पठनपाठनलाई प्रभावकारी बनाउने र कक्षा ११ र १२ पढ्ने विद्यार्थीले चाहे गणित पढ्न सक्ने वातावरण बनाउनुमा केन्द्रित हुनुपर्छ ।
अब हुने बहस र नीति निर्मातालाई दिने दबाब गणित अनिवार्य गराउनेभन्दा पनि अलोकप्रिय गणितलाई लोकप्रिय र उपयोगी बनाउन हुनुपर्छ । बस्याल अमेरिकाको युनिभर्सिटी अफ विस्कनसिन र नेपाल मर्सर युनिभर्सिटीमा गणित विषय प्राध्यापन गर्छन् ।